ललितपुरमा २० प्रतिशत निजी विद्यालय आर्थिक संकटमा

बोर्डिङ स्कुलले विद्यार्थी पाएनन्

अस्वस्थ प्रतिस्पर्धामा टिक्न नसकेर उपत्यकामा निजी विद्यालयहरू बन्द हुने क्रम सुरु भएको छ । कुनै समय च्याउझैं उम्रेका निजी विद्यालयहरू अहिले विद्यार्थी नपाएर छटपटिइरहेका छन् । आर्थिक संकट झेल्न नसकी उपत्यकाका एक दर्जनभन्दा बढी निजी विद्यालय बन्द भइसकेका छन् भने दर्जनौं बन्द हुने अवस्थामा छन् । विद्यार्थी अभावको रोग ललितपुरका विद्यालयहरूमा बढी देखिएको छ । यसै वर्ष ललितपुरका दुई सरकारी विद्यालयमा समेत ताला लागेको छ । ती विद्यालयका शिक्षकलाई अन्यत्र सारिएको छ । जिल्ला शिक्षा कार्यालय ललितपुर र प्याब्सन स्रोतका अनुसार सो जिल्लामा झन्डै एक दर्जन निजी विद्यालय बन्द भइसकेका छन् ।

जिल्ला शिक्षा कार्यालय काठमाडौंमा पनि केही सञ्चालकले विद्यार्थी अभावमा विद्यालय सञ्चालन गर्न नसकेको बताएका छन् । शिक्षा कार्यालयमै आई विद्यालय सञ्चालन गर्न नसक्ने अवस्था जानकारी गराएपछि कार्यालयले सञ्चालन हुन नसकेका निजी विद्यालयको ’boutमा रिपोर्ट तयार पार्न विद्यालय निरीक्षक तथा स्रोतव्यक्तिलाई निर्देशन दिएको छ ।

विद्यार्थी अभावले ‘मर्ज’ गरिएका कतिपय विद्यालय पनि अस्तित्वमा छैनन् । प्याब्सन र शिक्षा कार्यालय स्रोतका अनुसार क्रेसेन्ट मावि, केन्ट मावि, भुवन राज्यलक्ष्मी मेमोरियल, मार्टस् मेमोरियल स्कुल, एभरेस्ट एकेडेमी, केयरटप बोर्डिङ स्कुल, ग्रेस एकेडेमी, बलबाहु प्राविलगायतका विद्यालय हाल सञ्चालनमा छैनन् । तीनवटा स्कुल मर्ज गरेर स्थापित टि्रनिटी स्कुल अहिले अस्तित्वमा नरहेको जिल्ला शिक्षा कार्यालयका अधिकारीले बताए ।

जिशिअ बाबुकाजी कार्कीका अनुसार ललितपुरमा २० प्रतिशत निजी विद्यालय आर्थिक संकटमा छन् । ‘अब नयाँ विद्यालय खोल्न ठूलो चुनौती छ,’ कार्की भन्छन्, ‘विद्यालयमा लगानी गर्नेबित्तिकै नाफा हुँदैन भन्ने प्रमाणित हुन थालेको छ ।’ विद्यार्थी र अभिभावक जुन विद्यालयले बढी सुविधा दिन्छ त्यतै आकषिर्त हुने गरेको कार्कीले बताए । अस्वस्थ प्रतिस्पर्धा भएकाले थुप्रै निजी विद्यालय संकटमा पर्न थालेको उनको भनाइ छ ।
ललितपुर जिशिका स्रोतका अनुसार ०६४ सालको एसएलसी परीक्ष्ाामा समेत आधा दर्जन विद्यालयबाट एकजना विद्यार्थी पनि सहभागी भएनन् । अघिल्ला वर्षहरूमा एसएलसी परीक्ष्ाामा विद्यार्थी सहभागी गराएका वशिष्ट मावि, ज्वालादेवी विद्यामन्दिर, ज्ञान विकास माविलगायतले गत वर्ष विद्यार्थी जुटाउन सकेनन् ।

जिशिअ बाबुकाजी कार्कीले नयाँ पत्रिकासँग भने, ‘केही विद्यालय सञ्चालनमा नरहेको जानकारी आएको छ, तिनका ’boutमा अध्ययन गर्दैछौं ।’ काठमाडौंका विद्यालय सञ्चालकहरू पनि विद्यार्थी अभावमा विद्यालय सञ्चालन गर्न नसकेको जानकारी लिएर जिशिका धाउन थालेका छन् । विद्यार्थी नभएपछि कीर्तिपुरको रिभर भ्याली मावि र फर्पिङको न्यु फ्लावर इंग्लिस स्कुल यस वर्षबाट सञ्चालन गर्न नसक्ने जिशिकामा जानकारी गराइएको छ । फुटुङको सरस्वती शिक्षा सदन सञ्चालनमा नरहेको स्रोतव्यक्ति बालकुमारी खनालले बताइन् । काभ्रेस्थलीमा सञ्चालनको अनुमति पाएको गौरीशंकर मावि, गोलढुंगामा अनुमति पाएको चण्डेश्वरी प्रावि तथा कान्छी मैया सनातन बालविकासलगायतका स्कुल सो ठाउँमा भेटिएका छैनन् ।

काठमाडौंका जिशिअ दुर्गाप्रसाद गौतमले प्रतिस्पर्धा गर्न नसक्नु, लगानीकर्ता मिल्न नसक्नु तथा व्यवस्थापन पक्ष कमजोर हुनुले निजी विद्यालय धमाधम बन्द हुन थालेको बताए । उनले नयाँ पत्रिकासँग भने, ‘काठमाडौंको गल्ली-गल्लीमा निजी विद्यालय खुलेका छन्, कहिले खुले, कहिलेदेखि बन्द भए पत्ता लगाउन गाह्रो भएको छ ।’ कति बोर्डिङहरू बन्द भइरहेका छन् पत्ता लगाउन विद्यालय निरीक्षक तथा स्रोतव्यक्तिलाई तथ्यांक संकलन गर्न निर्देशन दिइएको जिशिअ गौतमले बताए ।

निजी मात्र होइन सरकारी विद्यालय पनि विद्यार्थी अभावले बन्द भएका छन् । ललितपुरका गोमती र जप्का प्रावि यसै वर्षबाट बन्द भएको ललितपुर जिशिकाका शाखा अधिकृत हरिहर धितालले बताए । ती दुई विद्यालयका पाँच शिक्षकको दरबन्दी अन्यत्र सारिएको छ । प्याब्सनका अध्यक्ष भोजबहादुर शाहले निजी विद्यालय धेरै खुलेकाले अस्वस्थ प्रतिस्पर्धा भएको र त्यसले गर्दा विद्यालय बन्द हुने क्रम बढेको बताए । ‘निजी विद्यालय धेरै खुलेकाले धेरै प्रतिस्पर्धा छ, अध्यक्ष शाहले नयाँ पत्रिकासँग भने, ‘त्यस सँगसँगै ट्रेड युनियन अधिकारको पनि खोजी भइरहेको छ । तर, अधिकांशले उचित तलब-सुविधा दिन नसक्दा बन्द हुने अवस्थामा छन् ।’

भवानीश्वर गौतम/नयाँ पत्रिका

Advertisements